Category Archives: campaign

म त एक आम नेपाली मलाई के फाइदा डा. केसीको अनशनले?

यो प्रश्नको उत्तर पाउन पहिले तपाइँ आफैले आफैसँग यी प्रश्नहरुको जवाफ खोज्नु पर्छ।

१) के तपाईलाई अस्पतालबाट क्लिनिकमा रिफर गरिएको छ?

२) के तपाईलाई डाक्टरले हतार-हतारमा जाँचेर धपाएको छ?

३) के तपाईलाई आफ्नो जाँच रिपोर्ट एउटा डाक्टरमा पत्यार नलागी फरक फरक डाक्टरलाई देखाउनु भएको छ?

४) के तपाइंले मनमनै कुनै अस्पताललाई ‘ठग’ भन्नु भएको छ?

५) के तपाईलाई आमा-बा बिरामी हुँदा ‘खेतबारी बेच्नु पर्छ कि क्या हो’ जस्तो भको छ?

६) के तपाईले वा तपाईको छोराछोरीले डाक्टर-नर्स बन्ने सपना पैसा तिर्न नसक्ने भएकै कारण मार्नु परेको छ?

७) के तपाइँले औषधी पसलेलाई सोध्नु भा’छ “यो औषधी त अल्ली महँगो रहेछ। अलि सस्तो खाले छैन?”

यदि माथिका प्राय प्रश्नमा तपाईको उत्तर “हो” “भा छ” “ठिक” जस्ता छन् भने तपाइले पक्कै बुझ्नु हुनेछ डा. केसीको अनशनको मर्मलाई।

युरोप, क्यानडा, केन्या, दक्षिण अफ्रिका लगायत देशहरुमा सरकारी मेडिकल कलेज मात्र छन्| तर नेपालमा भने अहिले सम्म १७ ओटा निजि मेडिकल कलेज हुँदा जम्मा ३ ओटा सरकारी मेडिकल कलेज छन्। निजि मेडिकल कलेजहरुले लुट नै मच्चाएका छन्। एक जना विद्यार्थीले निजि मेडिकल कलेजबाट विशेषज्ञ डाक्टर बन्नको लागि १.७ करोड देखि २.६ करोड सम्म खर्च गर्नु परिरहेको छ। MBBS गर्नको लागि मात्रै पनि ५०-६० लाख लाग्ने गरेको छ।

यति धेरै लगानी गरेर डाक्टर बनेपछी के त्यो डाक्टरले गाउँमा गएर बिरामीको सेवा गर्न सक्छ त? बिरामीले खाने औषधी र प्याथोलोजीमा गर्ने स्वास्थ्य परिक्षणमा कमिसन खांदैनन त?

सबै भन्दा सुरुमा पढ्नको लागि लागेको लगानी त उठाउने पर्यो नी, होइन र?

तपाईको छोराछोरी वा आफन्तको पनि रहर होला डाक्टर बन्ने। के उनीहरुलाई डाक्टर बनाउन १.७ देखी २.६ करोड सम्म खर्च गर्न पर्नु जायज छ? के एक जेहेन्दार विद्यार्थीले पढाई महँगो भएकै कारण डाक्टर बन्ने सपना मार्न पर्नु उ माथीको अन्याय होइन? के उसको पढाई राज्यको कर्तव्य होइन?

हो, डा. केसी नेपालको मेडिकल शिक्षा क्षेत्रको यही लुटतन्त्रको विरुद्ध आमरण अनशन बस्दै हुनुहुन्छ। तपाई कै लागि संघर्ष गर्दै हुनुहुन्छ। के उहाँलाई साथ दिनु तपाईको कर्तव्य होइन?

थप  जानकारीको  लागि :
विवेकशील नेपाली,  मकवानपुर
संपर्क : 985-5031512 (विवेकशील हटलाइन) , 984-5535512 , 984-5118597, 9855070597
Facebook: fb.com\bibeksheelnepali.makawanpur
Twitter: @BibeksheelNP
www.leadnepal.com/drkc